Showing posts with label Chinese Railway. Show all posts
Showing posts with label Chinese Railway. Show all posts

Thursday, 23 February 2017

चिनियाँ रेल नेपाल आउने छोटो मार्ग (वान बेल्ट वान रोड भाग–४) - अन्तिम भाग

चिनियाँ रेल नेपाल आउने छोटो मार्ग 

वान बेल्ट वान रोड भाग–४


चक्रपथ.कममा केहि अघि मेरो लेखहरु प्रकाशित भएको थियो "वन बेल्ट, वन रोड" को बारेमा. ती सबै लेखहरुलाई एकठाउमा पढ्नको लागि सजिलोहोस भनेर फेरी पोस्ट गरेको छु. चक्रपथ डट कम मै पढ्ने भए यहा क्लिक गरेर पढ्न सक्नुहुनेछ.

यस बहसको पहिलो भाग, दोश्रो भाग, र तेश्रो भाग यहा पढ्न सक्नुहुनेछ.


नेपाललाई कसरी वान बेल्ट वान रोडमा जोड्न सकिन्छ भन्ने विषयमा यसअघिका लेखमा केही विवेचना गर्ने प्रयास स्वरुप नेपाल र चीन जोड़ने राजमार्गका बारेमा चर्चा गरिएको थियो ।  यो लेखमा नेपाल र चीन बीचको सम्भावित रेलमार्गको बारेमा चर्चा गरिएकोछ । 

अहिलेको चीनको रेलमार्ग जसले नेपाललाई चीनसँग सजिलै जोड्नसक्छ त्यो हेर्ने हो भने सिचुवान–तिब्बत रेलमार्ग सबभन्दा महत्वपूर्ण छ । यो रेलमार्गले चीनको चेङ्दु शहरलाई ल्हासा शहरसँग जोड्दछ । 

ल्हासाबाट चीनका सबैजसो महत्वपूर्ण सहरहरुमा जाने रेल्वे मार्गको निर्माण भइसकेको छ । अहिले बेइजिङबाट ल्हासा, सांघाईबाट ल्हासा र चेंङ्दुबाट ल्हासा रेल सेवा नियमित रुपमा सञ्चालनमा छ ।  यात्रा दूरी र समय लामो भए पनि पर्यटन र व्यापारका लागि यी रेलमार्ग तिब्बतका लागि महत्वपूर्ण छन् ।  अझ चेङ्दुबाट ल्हासाको रुटमा चीनले नयाँ छोटो रेलमार्ग खोल्दैछ ।  यसको निर्माण कार्य सन् २०२१ मा सक्ने लक्ष्य राखिएको छ ।  मेनल्याण्ड चीनलाई तिब्बतसँग जोड्ने महत्वपूर्ण रेलमार्गको निर्माण र सञ्चालन भएको झण्डै दश बर्ष बितिसकेको छ । नेपालीहरुको चासो चाहिँ अब कसरी ल्हासालाई नेपालसँग जोड्न सकिन्छ भन्ने हो ।
तिब्बतको राजधानी ल्हासा काठमाडौंबाट ६०० किमी टाढा छ । अहिलेको प्लान अनुसार छिङ्घाई–तिब्बत रेलमार्गलाई नेपालसम्म बिस्तार गर्ने योजना रहेको छ ।  अहिले छिङ्घाई–तिब्बत रेलमार्गले जिनिङ शहर (जून छिङ्घाई प्रान्तको राजधानी हो) लाई तिब्बतसम्म जोडेको छ । छिङ्घाई–तिब्बत रेलमार्गलाई नेपालसम्म बिस्तार गर्ने क्रममा ल्हासाबाट सिगात्सेसम्म रेलमार्ग सन् २०१४ अगस्त मै सञ्चालन भइसकेको छ । 

यसबाट के बुझिन्छ भने नेपालबाट सबैभन्दा नजिकको चीन तर्फको रेलवे स्टेसन सिगात्से हो ।  सिगात्से ल्हासाबाट २४८ किमीको दूरीमा छ ।  यसरी हेर्दा केवल ३५० किमिको रेल्वे ट्रयाक बनायौं भने काठमाडौंलाई सिगात्सेसँग जोड्न सक्छौ । काठमाडौलाई सिगात्सेसँग जोड्नु भनेको नेपाललाई बेइजिंङ, सांघाई र चेंङ्दुसँग सजिलै जोड्नु हो ।

कसरी काठमाडौंलाई सिगात्से नजिक ल्याउने त ?
अबको बाटो भनेको रेलमार्गको बिस्तार हो । सिगात्से–केरुङ रेलमार्ग बन्न सकेमा काठमाडौबाट रेलमार्ग अझै नजिक हुनेछ । चीनले गरेको फिजिबिलिटी स्टडी अनुसार केरुङसम्म रेल आउन सक्ने सम्भावना छ । त्यसो भएमा सिगात्सेबाट केरुङसम्मको रेलमार्ग ५४० किमीको हुने जनाइएको छ । रसुवा जिल्लाबाट केरुङ मात्र ३५ किमी टाढा छ । तसर्थ सिधा दूरी कम देखिए पनि नेपालको सीमाबाट सिगात्से सम्मको रेलमार्ग खोल्न कम्तीमा ६०० किमीको ट्रयाक खोल्नुपर्ने देखिन्छ । केरुङको उचाई समुद्र सतहबाट २,८०० मिटरको छ । समुद्र सतहबाट पाँच हजार मिटर माथि रेल कुदाइसकेको चीनलाई यो कुनै गाह्रो काम हैन । अझै नेपालतर्फ रेलमार्ग बनाउने हो भने केरुङको पहाडी बाइपास १,८०० मिटरको हुने र त्यहाँबाट रेलमार्ग नेपाल छिर्नसक्ने बताइएको छ ।

अहिलेको योजना भनेको सिगात्सेबाट सबैभन्दा पहिले रेलमार्ग केरुङसम्म आउनु पर्यो । केरुङ एउटा सुख्खा बन्दरगाह हो र रेल यहींसम्म आउँदा पनि नेपाललाई निकै फाईदा हुने देखिन्छ । जब रेलमार्ग केरुङसम्म खोलिन्छ अनि त्यहाँबाट नेपाल जोडिने देखिन्छ ।

सिगात्सेबाट केरुङ सम्मको रेलमार्ग चीनले बनाउने छ । यो सन् २०२० अर्थात् अबको तीन बर्षमा सकिने काम हो । त्यो समयमा नेपालले केरुङ–काठमाडौं जोड्ने रेलमार्ग बनाउने हो भने चीनको रेल नेपालआउन धेरै समय लाग्दैन । केरुङ–नेपाल नाकामा रेलको ट्रयाक खोल्न सजिलो नहुने र दुई वर्ष लाग्न सक्ने चीनको अध्ययनले देखाएको छ । त्यसले गर्दा नेपलले कुनै बिलम्ब नगरी काम सुरु गरिहाल्नु पर्ने आवश्यकता छ । चिनियाँ विज्ञहरुको सहयोग लिएर नेपालले रसुवा नाकामा काम थाल्न ढिलाई गर्नु हुँदैन । नेपाललाई विश्वसँगजोड्न सक्ने मार्ग भनेको नेपाल–चीनबीचको सीधा रेलमार्ग नै हो र नेपाललाई भारतसँगको अधिक निर्भरताबाट मुक्त गर्ने मार्ग पनि यही हो । 

(लेखक भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा एसोसियट रिसर्चर हुन् ।)

Thursday, 22 December 2016

कसरी जोडिन सक्छ नेपाल "वन बेल्ट, वन रोड मा"?

कसरी जोडिन सक्छ नेपाल "वन बेल्ट, वन रोड मा"?

यो प्रश्नको उत्तर धरातलमा टेकेर लेखिनुपर्दछ यदी सत्य र प्रयोगात्मक उत्तर खोज्ने हो भने। यो इमोशनको बहकाउमा लागेर सगरमाथा फोडेर भएपनि सडक निकालिन्छ भनेको भरमा रोडमा बनाउन सकिने होइन। यो ब्लगमा मैले कसरी जोड्न सकिएला र के कस्ता चुनौती आउनसक्छन भन्ने बारेमा केही लेखेको छु। बाकी कुरा त बाकी ब्लगहरुमा पनि आउने नै छन्। नेपाललाई कसरी जोड्ने भन्ने चर्चा गर्दा अलि सुक्ष्म रुपमै "चीन-पाकिस्तान आर्थिक करिडोर" लाइ करीबबाट अध्ययन गर्नुपर्ने जरुरी छ। चीनले समेत "पाइलट प्रोजेक्ट" ("फ्लागशिप प्रोजेक्ट"/Flagship Project) मानेको हुदा "ओबिओआर" का सम्भावित चुनौती र फाइदालाइ बुझ्न "चीन-पाकिस्तान आर्थिक करिडोर" को निर्माणमा देखा परेका समस्या, र समाधानलाइ गहिरिएर हेरौ एकपटक।

यो करिडरले चीनलाई इन्डियन ओसन सग जोड्दछ। चीनको काषागार (Kashgar) सहरबाट रोड्मार्ग भएर पाकिस्तानको ग्वादर (Gwadar) बन्दरगाहमा जोडिने हो। तसर्थ कुनैपनि हालतमा नेपालबाट जाने सडकले यदि चीनको काश्गर शहरलाई जोड्ने हो भने नेपालको "ओबिओआर" मा जोडिने सपना पुरा हुन कुनै समय लाग्दैन। केवल आकडा हेर्ने हो भने नेपालबाट काश्गर करिब १७०० किमि को दुरीमा पर्छ। यो केवल सबैभन्दा छोटो दुरी हो, सडकमार्गको दुरी हैन। पहाडी र हिउ जम्ने हिमाली एरिया भएका कारण पनि नेपाललाई "ओबिओआर" मा भाग लिन निकै कडा मिहिनेत गर्नपर्ने देखिन्छ।

के के छन् त नेपालका लागि चुनौती?

नेपालको भूराजनीति नै नेपालको लागि पहिलो ठुलो च्यालेन्ज हो। सबैभन्दा सजिलो इलाका केवल भारत तर्फ मात्र भएको हुदा भारतमा नै "ओभर-डिपेण्डेण्ड" हुनुपर्ने अवस्था छ। उत्तर चीन तर्फको भूभाग जुन हालतको छ त्यसलाई छिचोलेर नेपालले ब्यापार बढाउने कुरा मुस्किलै छ, तर असम्भब भने छैन। यसले केहि मात्रामा भारत तर्फको "ओभर-डिपेन्डेन्सी" लाइ कम गर्दछ। र यसैका खातिर पनि नेपाल ले उत्तर तर्फको सडक संरचनामा ध्यान दिनु अत्यन्तै जरुरी छ। सबैभन्दा यक्ष प्रश्न चाही के हिउले पुरिएका हिमाल चिरेर सडक खोल्न सजिलो र सम्भब छ? के यस्ता हिमाल र पहाड चिरेर संसारमा अन्यत्र पनि सडक खोलिएका उदाहरण छन्?

त्यसका लागी संसारका केहि उचाइमा रहेका हाइवेहरुलाई हेरौ र त्यसमा देखिने चुनौतीमा बिशेष ध्यान दिउ एकछिनका लागि. उच्च हिमाली इलाकामा कसरि सडक बनाउने भन्ने सिक्न धेरै टाढा गैराख्नु पर्दैन। पाकिस्तान लाइ चाइनासग जोड्ने "काराकोरम हाइवे", र तिब्बत क्षेत्रमा रहेको चीनको "जी२१९" हाइवे को निर्माण र त्यसको मर्मत-सम्भार लाइ हेर्ने हो भने आशा गर्न सकिने ठाउ छन्। तर एउटा नया आशाका साथ् साथै त्यसको "ळिमिटेसन" का बारेमा पनि हामी अवगत हुनेछौ। तसर्थ नेपाललाई चीनको काशगर सग जोड्ने र त्यहाबाट "काराकोरम हाइवे" मार्फत पाकिस्तानको ग्वादार पोर्ट सम्म जोड्ने सपना तत्कालका लागी "आकाशको फल" बराबर नै हुनेछ। नेपाललाई चीन-पाकिस्तान हुदै पश्चिमा रास्ट्र, मध्य-एसिया र "मिडल इस्ट" जोड्ने सपना साकार हुन् निक्कै समय लाग्ने देखिन्छ।

तर निराश भै हाल्नुपर्ने जरुरी चाही यसकारण छैन किनभने चीनको नेसनल हाइवे "जी ३१८" जसले नेपालको कोदारीमार्गलाइ तिब्बतको ल्हाषा हुदै अन्य भागलाई जोड्दछ, त्यो चाहि धेरै राम्रो अवस्थामा छ र नेपाललाई चेंगदु(Chengdu) सहरसग धेरै सजिलै ता होइन त्यही पनि राम्रै तरीकाले जोड्न सकिन्छ। चेंगदु (Chengdu) बाट सांघाई २००० किमि को मोटरबाटो हो। (यसबारेमा अर्को ब्लगमा है।) यहासम्म सरसर्ती हेर्दा के कुरा चाहि प्रस्ट देखिन्छ भने नेपाल "ओबिओआर" को हिस्सा बन्दा यसको मुख्य फोकस चाहि चीनको पुर्बतर्फका क्षेत्रहरुमा ब्यापार बढाउने उद्देस्यले हुनुपर्छ। यो नेपालको चाहना भन्दापनि बाध्यता हो। तर यसका साथै प्रसस्त सम्भावना चाही के देखिन्छ भने नेपाल "आसियान/ASEAN" का अन्य रास्ट्रहरुसग पनि चीनको सहायता र सक्रियतामा ब्यापार बढाउन सक्षम हुनसक्ने ठाउ छ।

सन् २०१४ मा अस्फ़ाल्ट बिछ्याइएको चीनको सबैभन्दा चुनतिपुर्ण नेसनल हाइवे "जी २१९" आर्थिक रुपमा भरपर्न सकिने "च्वाइस" ता होइन तर नाकाबन्दी जस्तो "डेस्परेट" टाइम मा भने काममा आउन सक्छ। तर हालकै अवस्थामा नेपालले यो हाइवे को उपयोग गर्न सक्ने सम्भावना कमै छ। नेपाल र चीन दुवै तर्फ आवस्यक भौतिक संरचनाको बिकास नगरी "जी २१९" ले नेपाललाई नया बाटो खोल्ने सम्भावना छैन। अहिलेलाई काठमान्डू बाट कोदारी राजमार्ग हुदै नेपालले तिब्बत बोर्डरमा चीनको नेसनल हाइवे "जी 318" लाइ पकड़छ र त्यसले "जी २१९" लाइ भेटेर मानसरोवर सम्मको यात्राको लागीमात्रै यो बाटोको प्रयोग भएको छ। काश्गार हुदै पाकिस्तान र मध्य-एसियाका कुनैपनि अरु नाकापुग्न कम्तिमा अरु २००० किमि को यात्रा गर्नुपर्नेहुन्छ नेपालले मानसरोबर क्षेत्रबाट. लजिस्टिक्स र आर्थिक दुवै कोणबाट अहिलेलाई त्यो "फलामको चिउरा चपाउनु" सरह नै हो।

"जी २१९"  २००० किमि भन्दा लामो सडक खण्ड हो, जो सगरमाथाको पारीपट्टी छ भन्दा पनि हुन्छ। "जी २१९" लगभग ५००० मि. को औसत उचाइमा रहेको सडक हो र कतिपय सवारीचालक यहा "अक्सिजन मास्क" लगाएर गाडी चलाउने गर्दछन। "जी २१९"  ले तिब्बेतलाइ सिन्जियान ऊइघुर (Xinjiang Uyghur autonomous region) क्षेत्रसग जोड्दछ। नेपाललाई मध्य-एसिया सग जोड्न को लागि ऊइघुर पुग्नु जरुरी छ। ऊइघुरबाट कजाखस्तानको "अल्माटी" सम्म रोड र रेलमार्ग दुवै एकदमै राम्रो अवस्थामा छ।

तसर्थ सडक मार्ग मार्फत नेपालले चाइना लगायत अन्य राष्ट्र सग जोडीएर आर्थिक फाईदा लिने कुरा निकै गार्हो साबित हुनेछ। त्यही भएर नै रेल्मार्ग बढी भरपर्दो माध्यम हुनसक्छ। कसरी नेपाललाई चाइनासग रेल्मार्ग बाट जोड्न सकिएला भन्ने बारेमा साङ्गोपाङ्गो अध्ययन गरिएको लेख अर्को हप्ता आउनेछ। यहाँको प्रतिकृयाको स्वागत गर्दछौ।  ओबिओआर र नेपाल केन्द्रित भएर लेखिएका अघिल्ला दुई लेख यहाँ पढ्न सक्नुहुनेछ। पहिलो लेख (वन बेल्ट, वन रोड बाट नेपालले लिन सक्ने फाइदाहरु) र् दोश्रो लेख ("वन रोड, वन बेल्ट" - के गर्दैछ चाइना? कसरि लिने फाइदा?)