चिनियाँ रेल नेपाल आउने छोटो मार्ग
वान बेल्ट वान रोड भाग–४
चक्रपथ.कममा केहि अघि मेरो लेखहरु प्रकाशित भएको थियो "वन बेल्ट, वन रोड" को बारेमा. ती सबै लेखहरुलाई एकठाउमा पढ्नको लागि सजिलोहोस भनेर फेरी पोस्ट गरेको छु. चक्रपथ डट कम मै पढ्ने भए यहा क्लिक गरेर पढ्न सक्नुहुनेछ.
नेपाललाई कसरी वान बेल्ट वान रोडमा जोड्न सकिन्छ भन्ने विषयमा यसअघिका लेखमा केही विवेचना गर्ने प्रयास स्वरुप नेपाल र चीन जोड़ने राजमार्गका बारेमा चर्चा गरिएको थियो । यो लेखमा नेपाल र चीन बीचको सम्भावित रेलमार्गको बारेमा चर्चा गरिएकोछ ।
अहिलेको चीनको रेलमार्ग जसले नेपाललाई चीनसँग सजिलै जोड्नसक्छ त्यो हेर्ने हो भने सिचुवान–तिब्बत रेलमार्ग सबभन्दा महत्वपूर्ण छ । यो रेलमार्गले चीनको चेङ्दु शहरलाई ल्हासा शहरसँग जोड्दछ ।
.jpg)
ल्हासाबाट चीनका सबैजसो महत्वपूर्ण सहरहरुमा जाने रेल्वे मार्गको निर्माण भइसकेको छ । अहिले बेइजिङबाट ल्हासा, सांघाईबाट ल्हासा र चेंङ्दुबाट ल्हासा रेल सेवा नियमित रुपमा सञ्चालनमा छ । यात्रा दूरी र समय लामो भए पनि पर्यटन र व्यापारका लागि यी रेलमार्ग तिब्बतका लागि महत्वपूर्ण छन् । अझ चेङ्दुबाट ल्हासाको रुटमा चीनले नयाँ छोटो रेलमार्ग खोल्दैछ । यसको निर्माण कार्य सन् २०२१ मा सक्ने लक्ष्य राखिएको छ । मेनल्याण्ड चीनलाई तिब्बतसँग जोड्ने महत्वपूर्ण रेलमार्गको निर्माण र सञ्चालन भएको झण्डै दश बर्ष बितिसकेको छ । नेपालीहरुको चासो चाहिँ अब कसरी ल्हासालाई नेपालसँग जोड्न सकिन्छ भन्ने हो ।
तिब्बतको राजधानी ल्हासा काठमाडौंबाट ६०० किमी टाढा छ । अहिलेको प्लान अनुसार छिङ्घाई–तिब्बत रेलमार्गलाई नेपालसम्म बिस्तार गर्ने योजना रहेको छ । अहिले छिङ्घाई–तिब्बत रेलमार्गले जिनिङ शहर (जून छिङ्घाई प्रान्तको राजधानी हो) लाई तिब्बतसम्म जोडेको छ । छिङ्घाई–तिब्बत रेलमार्गलाई नेपालसम्म बिस्तार गर्ने क्रममा ल्हासाबाट सिगात्सेसम्म रेलमार्ग सन् २०१४ अगस्त मै सञ्चालन भइसकेको छ ।
यसबाट के बुझिन्छ भने नेपालबाट सबैभन्दा नजिकको चीन तर्फको रेलवे स्टेसन सिगात्से हो । सिगात्से ल्हासाबाट २४८ किमीको दूरीमा छ । यसरी हेर्दा केवल ३५० किमिको रेल्वे ट्रयाक बनायौं भने काठमाडौंलाई सिगात्सेसँग जोड्न सक्छौ । काठमाडौलाई सिगात्सेसँग जोड्नु भनेको नेपाललाई बेइजिंङ, सांघाई र चेंङ्दुसँग सजिलै जोड्नु हो ।

कसरी काठमाडौंलाई सिगात्से नजिक ल्याउने त ?
अबको बाटो भनेको रेलमार्गको बिस्तार हो । सिगात्से–केरुङ रेलमार्ग बन्न सकेमा काठमाडौबाट रेलमार्ग अझै नजिक हुनेछ । चीनले गरेको फिजिबिलिटी स्टडी अनुसार केरुङसम्म रेल आउन सक्ने सम्भावना छ । त्यसो भएमा सिगात्सेबाट केरुङसम्मको रेलमार्ग ५४० किमीको हुने जनाइएको छ । रसुवा जिल्लाबाट केरुङ मात्र ३५ किमी टाढा छ । तसर्थ सिधा दूरी कम देखिए पनि नेपालको सीमाबाट सिगात्से सम्मको रेलमार्ग खोल्न कम्तीमा ६०० किमीको ट्रयाक खोल्नुपर्ने देखिन्छ । केरुङको उचाई समुद्र सतहबाट २,८०० मिटरको छ । समुद्र सतहबाट पाँच हजार मिटर माथि रेल कुदाइसकेको चीनलाई यो कुनै गाह्रो काम हैन । अझै नेपालतर्फ रेलमार्ग बनाउने हो भने केरुङको पहाडी बाइपास १,८०० मिटरको हुने र त्यहाँबाट रेलमार्ग नेपाल छिर्नसक्ने बताइएको छ ।
अहिलेको योजना भनेको सिगात्सेबाट सबैभन्दा पहिले रेलमार्ग केरुङसम्म आउनु पर्यो । केरुङ एउटा सुख्खा बन्दरगाह हो र रेल यहींसम्म आउँदा पनि नेपाललाई निकै फाईदा हुने देखिन्छ । जब रेलमार्ग केरुङसम्म खोलिन्छ अनि त्यहाँबाट नेपाल जोडिने देखिन्छ ।
सिगात्सेबाट केरुङ सम्मको रेलमार्ग चीनले बनाउने छ । यो सन् २०२० अर्थात् अबको तीन बर्षमा सकिने काम हो । त्यो समयमा नेपालले केरुङ–काठमाडौं जोड्ने रेलमार्ग बनाउने हो भने चीनको रेल नेपालआउन धेरै समय लाग्दैन । केरुङ–नेपाल नाकामा रेलको ट्रयाक खोल्न सजिलो नहुने र दुई वर्ष लाग्न सक्ने चीनको अध्ययनले देखाएको छ । त्यसले गर्दा नेपलले कुनै बिलम्ब नगरी काम सुरु गरिहाल्नु पर्ने आवश्यकता छ । चिनियाँ विज्ञहरुको सहयोग लिएर नेपालले रसुवा नाकामा काम थाल्न ढिलाई गर्नु हुँदैन । नेपाललाई विश्वसँगजोड्न सक्ने मार्ग भनेको नेपाल–चीनबीचको सीधा रेलमार्ग नै हो र नेपाललाई भारतसँगको अधिक निर्भरताबाट मुक्त गर्ने मार्ग पनि यही हो ।
(लेखक भारतको नयाँ दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा एसोसियट रिसर्चर हुन् ।)
No comments:
Post a Comment